समाचार

तोडफोड र भ्रामक भिडियोबीच देउवाले अस्वीकारे आरोप

चैत ११, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भेटिएको भनिएको रकमबारे सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको हुन सक्ने बताएका छन्।

जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगसमक्ष बयान दिँदै देउवाले आफूविरुद्ध षड्यन्त्र गरिएको जिकिर गरेका हुन्। उनले उक्त भिडियोहरू वास्तविक नभई भ्रामक प्रचारको हिस्सा हुन सक्ने दाबी गरे।

देउवाका अनुसार भदौ २३ गते उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा रहेका थिए भने सोही साँझ बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। भदौ २४ गते भने प्रदर्शनकारीहरू उनको निवासमा पुगेका थिए, जहाँ सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको र केही युवाहरूले आफूलाई सुरक्षित स्थानमा पुर्‍याउन सहयोग गरेको उनले बताएका छन्।

उनले आफ्नो घरमा भेटिएको रकम ठूलो परिमाणको नभएको उल्लेख गर्दै त्यसबारे सामाजिक सञ्जालमा आएका सामग्रीहरू भ्रामक भएको बताएका छन्। साथै, घरमा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रहरीले मुचुल्का उठाएको भए पनि त्यसपछिको कारबाहीबारे आफूलाई जानकारी नभएको बताए।

देउवाले उक्त घटनामा आफूले कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात नगरेको स्पष्ट पार्दै प्रहरीको मूल्याङ्कनमा कमजोरी हुन सक्छ तर त्यसलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने धारणा राखे।

उनले लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गर्नुपर्ने बताए। साथै, युवाको भावना समेटेर नीतिगत र संस्थागत सुधार आवश्यक रहेको उनले जोड दिएका छन्।

उक्त घटनासम्बन्धी आयोगको प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन।