समाचार

निर्वाचन परिणाम जादुमय र अस्वाभाविक देखियो- केपी शर्मा ओली

१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई “अनपेक्षित, अस्वाभाविक र जादुमय” भएको टिप्पणी गरेका छन्।

बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

ओलीले भने, “भर्खरै निर्वाचन सकिएको छ। अहिले यसको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन। तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय देखिएको छ।”

उनले निर्वाचनका क्रममा आफ्नो पार्टी र पार्टीको लक्ष्यविरुद्ध कुप्रचार गरिएको आरोप लगाए। “हाम्रा विरोधीहरू तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यका विरोधीहरूले गलत प्रचार गर्दै देशमा घृणाको राजनीति गरे,” उनले भने।

ओलीका अनुसार घृणाको राजनीति गर्ने शक्तिहरूलाई विभिन्न पक्षबाट सहयोग समेत प्राप्त भएको थियो।

कार्यक्रममा उनले नव-निर्वाचित सांसदहरूलाई सत्य र जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए। महाभारतको प्रसंग जोड्दै उनले भने, “कौरवको सेना ठूलो र शक्तिशाली थियो, पाण्डवको सेना सानो थियो। तर अन्ततः जित सत्यको पक्षमा भयो।”

उनले एमाले सधैं देश, जनता, शान्ति, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।