१२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अध्यागमनमा ‘सेटिङ मिलाउनुपर्छ’ भन्दै विदेश जाने व्यक्तिबाट ठूलो रकम असुल्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
अध्यागमन विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त कारबाहीमा लमजुङका जगत गुरुङलाई बुधबार लाजिम्पाटस्थित एक मेनपावर कम्पनीबाट पक्राउ गरिएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारी का अनुसार उनी विदेश जान लागेका व्यक्तिलाई अध्यागमनले रोक्ने डर देखाउँदै प्रतिव्यक्ति करिब एक लाख रुपैयाँ असुल्दै आएका थिए।
अनुसन्धानका क्रममा सोलुखुम्बुका मिङ्मार दोर्जे शेर्पा र उनकी श्रीमतीलाई दक्षिण कोरिया जान नदिने भन्दै रकम मागिएको खुलेको छ। डी–८ भिसा प्राप्त गरिसकेपछि पनि “अध्यागमन सेटिङ” नमिलाए रोक्ने, भिसा रद्द हुने र टिकटको पैसा नोक्सान हुने जस्ता डर देखाएर रकम असुल्न खोजिएको पीडितको भनाइ छ।
पीडितले घटनाबारे जानकारी दिएपछि विभागले अपरेशन सञ्चालन गरेको थियो। एक लाख रुपैयाँ बुझ्दै गरेको अवस्थामा गुरुङलाई नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको छ।
अध्यागमन विभागले यस्ता ठगीप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै कागजात पूरा भएका यात्रुलाई रोक्ने प्रावधान नभएको स्पष्ट पारेको छ। साथै, “सेटिङ” को नाममा रकम माग्ने व्यक्तिबारे तत्काल सूचना दिन पनि अनुरोध गरिएको छ।




