१२ चैत, काठमाडौं । नेपाल बार एशोसियसनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमति जनाउँदै विरोध गर्ने निर्णय गरेको छ।
बारका अध्यक्ष डा. विजयप्रसाद मिश्र का अनुसार प्रतिवेदनमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार, कानुन व्यवसायीमाथि लान्छना र अन्य आपत्तिजनक टिप्पणी समावेश भएको देखिएको छ। उनका अनुसार प्रतिवेदनले सर्वोच्च अदालतका कतिपय फैसलामा अनावश्यक टिकाटिप्पणी, आत्मपरक व्याख्या र कार्यादेश बाहिरको टिप्पणी गरेको छ।
नेपाल बार एशोसियसनले प्रारम्भिक रूपमा प्रतिवेदनमाथि असहमति जनाउँदै सर्वोच्च अदालत र न्यायाधीशहरूलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। साथै, प्रतिवेदनको विस्तृत अध्ययनका लागि छुट्टै समिति गठन गर्ने योजना पनि बनाइएको छ। समितिको निष्कर्ष आएपछि बारले आफ्नो विस्तृत धारणा सार्वजनिक गर्ने तयारीमा छ।
यस कदमलाई कानुन व्यवसायीहरूको स्वतन्त्रता र न्यायपालिकाप्रतिको विश्वास कायम राख्ने प्रयासको रूपमा हेरिएको छ।




