१३ चैत, काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको दुर्गम लाप्चा क्षेत्रमा उडिरहेको मुस्ताङ एयरको एक हेलिकप्टर अचानक सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्याप्टेन सुरज थापाको कमान्डमा रहेको ‘९एन-एएनओ’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चार यात्रुसहित पाँच जना सवार थिए।
लाङटाङको दक्षिण–पूर्वमा पर्ने लाप्चा क्षेत्रमा पुगेपछि हेलिकप्टरसँग सम्पर्क टुटेको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हुन सक्ने अनुमान गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले पछिल्लो सूचना अनुसार हेलिकप्टर सुरक्षित रूपमा कतै अवतरण गरेको हुनसक्ने बताए पनि यथार्थ अवस्था अझै स्पष्ट हुन सकेको छैन।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको पुष्टि गरेका छन्। अहिले उद्धार तथा खोजी कार्यको तयारी भइरहेको बताइएको छ।
अधिक जानकारी आउने क्रम जारी छ।





