समाचार

महान्यायाधिवक्ता भण्डारी बरालको राजीनामा, कार्यकालभर विवादित निर्णयहरूको चर्चा

१३ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की पदमुक्त भएसँगै उनले पनि परम्पराअनुसार पद छाडेकी हुन्।

उनीलाई प्रधानमन्त्री कार्कीले गत २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्। करिब साढे ६ महिनाको कार्यकालपछि उनले राजीनामा दिएकी हुन्।

नेपालमा सामान्यतया प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ता, प्रधानमन्त्री पदबाट हटेपछि स्वतः पद छाड्ने अभ्यास रहँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै भण्डारीले पनि आफ्नो जिम्मेवारीबाट अलग भएकी हुन्।

यद्यपि, छोटो कार्यकालमै उनी विभिन्न विवादमा तानिएकी थिइन्। विशेषगरी ‘होप फर्टिलिटी’सँग सम्बन्धित डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयले व्यापक आलोचना खेपेको थियो। उक्त प्रकरणमा उनी र उनकी छोरीसमेत जोडिएको आरोप लागेको थियो।

यस अवधिमा उनले गरेका कम्तिमा पाँच निर्णयहरू विवादास्पद बनेका बताइन्छ, जसका कारण उनको कार्यशैलीबारे सार्वजनिक बहससमेत चर्किएको थियो।