काठमाडौं, १४ चैत – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन्। शनिबार जारी प्रेस विज्ञप्तिमा भण्डारीले यो कदमले देशमा अस्थिरता र द्वन्द्वको जोखिम बढाउनसक्ने चेतावनी दिएकी छन्।
उनका अनुसार, कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अवस्थामा सरकारले गठनको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्दै यी दुवै नेतालाई पक्राउ गर्नु संवेदनशील र दूरगामी प्रभाव पार्ने निर्णय हो। भण्डारीले यस प्रकारको कदम वर्तमान संविधान, प्रचलित कानुन र लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गरेकी छन्।
विज्ञप्तिमा भनिएको छ, “हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउँछ र मुलुकमा पुन: अस्थिरता र द्वन्द्वको जोखिम बढाउँछ।” उनले सरकारलाई संयमता अपनाएर विधि र प्रक्रिया अनुसार अगाडि बढ्न, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाको सम्मान गर्न आग्रह गरेकी छन्।
पूर्व राष्ट्रपति भण्डारीले सरकारले उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुने सुझाएको छ र मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर रहन पनि आग्रह गरेकी छन्।





