बाग्मती

दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आज बिहानमात्रै पक्राउ परेका खड्कालाई अनुसन्धानको लागि म्याद थप गर्न अदालतमा लगिएको हो।

गृहमन्त्री सुधन गुरुङले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा खड्काको घरमा बरामद रकमको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका थिए।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले पहिले नै जलेका नोटका केही टुक्रा संकलन गरेको र घर वरिपरि रहेको खरानी परीक्षणका लागि राखेको थियो।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। आगजनी पछि जलेको नोटको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए भने कतिपय नोट प्रदर्शनकारीले लगेको दृश्य पनि सार्वजनिक भएको थियो।

संपत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनास्थलबाट संकलित नोटका टुक्रा र खरानीको आधारमा अनुसन्धान जारी राखेको छ।