२१ चैत, काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले आक्रामक कदम चालेको छ।
शुक्रबार राति काठमाडौँका विभिन्न स्थानमा चलाइएको विशेष ‘क्लिनअप’ अभियानका क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको हो। ठमेल, दरबारमार्ग र सामाखुसी जस्ता मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रहरूलाई केन्द्रित गरी यो अपरेशन सञ्चालन गरिएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांशको सम्बन्ध ‘काभ्रेली समूह’ सँग रहेको देखिएको छ। पक्राउ पर्नेहरूमा सञ्जि लामा, अशोक गिरी र ‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङ रहेका छन्।
प्रहरी अनुसन्धानबाट सुरेश गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामाको समूहमा आबद्ध रहेको खुलेको छ। यस समूहका मुख्य नाइके श्याम लामा भने हाल फरार रहेको र उनको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले यो अपरेशन लक्षित रूपमा सञ्चालन गरिएको र आगामी दिनमा पनि जारी रहने संकेत दिएका छन्। उनले थप शंकास्पद व्यक्तिहरू पक्राउ पर्ने सम्भावना रहेको समेत बताए।





