२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा-ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन् ।
आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भन्दै हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने उनको भनाइ छ ।
वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।
केसीले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको टिप्पणी गरेका छन् ।
सभापति थापासँग जोडेर हुने गरेको टिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको उनको भनाइ छ । उनले नेपाली कांग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए । उनले कांग्रेस बदिलएको हेर्न नचाहानेहरूले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने टिप्पणी गरे ।





