शिक्षा

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थीको आन्दोलन

२७ चैत, काठमाडौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर संयुक्त विद्यार्थी संगठनले पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

जसअन्तर्गत चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने, चैत ३० गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लाहरूको आयोजनामा छलफल तथा अन्तरक्रिया गर्ने र वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी, वैशाख ७ गतेदेखि ९ गतेसम्म प्रचारप्रसार, कलेजमा ब्यानर राख्ने, पर्चा बाँड्ने, विभिन्न प्रतियोगिता वक्तृत्वकला, वादविवाद, गीत, गजल, दोहोरी, पप ब्याटल, नृत्य, सडक नाटक, फ्ल्यास मोब आयोजना गर्ने, भित्ते चित्रहरू प्रदर्शन गर्ने र प्रत्येक कलेजमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम छ ।

वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र दिने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र वैशाख १५ गते काठमाडौं उपत्यकामा बालुवाटारसहित देशभरि कापी–कलम सहितको प्रदर्शन गर्ने संयुक्त संगठनको तयारी छ ।