२८ चैत, काठमाडौँ । राजधानीका गल्ली–गल्लीमा पछिल्लो समय चियापसल, पानीपुरी–चट्पटे स्टल र फलफूल पसल तीव्र रूपमा खुलिरहेका छन्। न्यून लगानीमा सञ्चालन गर्न सकिने यी साना व्यवसायले धेरैलाई स्वरोजगारको अवसर दिएको छ। तर, यससँगै सरसफाइ, सार्वजनिक स्वास्थ्य र सामाजिक प्रभावबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
शहरका विभिन्न चोक, गल्ली र भीडभाडयुक्त स्थानमा खुला रूपमा सञ्चालन भइरहेका यस्ता पसलहरूमा सरसफाइको अवस्था भने कमजोर देखिन्छ। प्रयोग गरिएका प्लेट, गिलास, कचौरा तथा खाद्य सामग्री राख्ने स्थानहरू प्रायः खुला र अस्वच्छ हुन्छन्। त्यसमाथि चुरोट र चिरोटका ठुट्टाहरू जताततै फालिने, फोहोरको व्यवस्थापन नहुने र दुर्गन्ध फैलिने समस्या व्यापक रूपमा देखिन्छ।
कतिपय स्थानमा त त्यहाँ बस्नसमेत गाह्रो हुने अवस्था देखिन्छ। स्थानीय बासिन्दाहरूका अनुसार यस्ता पसलले वातावरणीय प्रदूषण मात्र होइन, सार्वजनिक असहजता पनि बढाइरहेको छ। “बेलुका त झन् धुवाँ, फोहोर र भीडका कारण हिँड्नै गाह्रो हुन्छ,” एक स्थानीयले गुनासो गरे। यद्यपि, यी साना व्यवसायहरूले बेरोजगारी घटाउन महत्वपूर्ण भूमिका खेलेका छन्। दैनिक आम्दानीको स्रोत नहुने धेरै युवाहरू र परिवारका लागि यस्ता पसल जीविकोपार्जनको आधार बनेका छन्। विशेषगरी शहरमा बसोबास गर्ने निम्न र मध्यम वर्गका लागि यो सजिलो र पहुँचयोग्य व्यवसाय बनेको छ। तर, समाजका अगुवाहरू भने यसको अर्को पक्षप्रति चिन्तित छन्।
उनीहरूको भनाइमा यस्ता चियापसलहरूमा लामो समय बस्ने, धूम्रपान गर्ने र समूहमा बस्ने प्रवृत्तिका कारण टिनएजर युवाहरू गलत संगतमा पर्ने जोखिम बढेको छ। “स्वरोजगार राम्रो कुरा हो, तर नियमन र निगरानी नभए यसले सामाजिक समस्या निम्त्याउन सक्छ,” एक समाजसेवीले बताए। सुरक्षा निकायका केही अधिकारीहरू पनि यस्ता स्थानहरूमा बेलुकीपख झै–झगडा, असामाजिक गतिविधि र साना आपराधिक घटनाहरू बढ्ने सम्भावना रहेको स्वीकार गर्छन्।
विशेषज्ञहरूका अनुसार समाधानका लागि स्थानीय तहले स्पष्ट मापदण्ड बनाउनु आवश्यक छ/जसमा सरसफाइको अनिवार्य व्यवस्था, फोहोर व्यवस्थापन, धूम्रपान नियन्त्रण र समयसीमा तोक्ने जस्ता उपायहरू समावेश हुनुपर्छ। साथै, व्यवसायीहरूलाई सचेतना र तालिम दिई जिम्मेवार रूपमा सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिइएको छ। अन्ततः, चियापसल र सडकखाने संस्कृतिले एकातिर रोजगारी र सामाजिक जमघटको अवसर दिएको छ भने अर्कोतिर शहरी व्यवस्थापन र सामाजिक अनुशासनका चुनौती पनि थपेको छ।





