समाचार

ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा खारेज हुँदैन : पूर्णबहादुर खड्का

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेपछि पूर्णबहादुर खड्काले आपत्ति जनाएका छन्।

कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गर्दै खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना, लहडमा भाषणमार्फत खारेज हुन नसक्ने बताएका हुन्।

खड्काले भनेका छन् ‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन’।

पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको उनको जिकिर छ ।

कांग्रेस सभापति थापाले चैत २५ मा मधेस प्रदेशमा आयोजित चुनावी समीक्षा कार्यक्रममा सदस्यता खारेज भएको घोषणा गरेका थिए।