समाचार

गोल्फुटारमै पुगेर गगन थापाले पूर्णबहादुर खड्कासँग किन गरे भेट?

६ वैशाख, काठमाडौं, । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आइतबार साँझ पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्कासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। साँझ करिब ७ बजे खड्काको निवास गोल्फुटार पुगेर थापाले उनीसँग भेट गरेका हुन्।

थापाको सचिवालयले भेट भएको पुष्टि गरे पनि छलफलका एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन। यद्यपि पछिल्लो समय विकसित राजनीतिक परिस्थितिका सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सर्वोच्च अदालतको आदेशपछि खड्का पक्षीय नेताहरू निरन्तर आन्तरिक छलफलमा सक्रिय रहेका छन्। आइतबार दिउँसो पनि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूबीच परामर्श भएको थियो। उनीहरूले अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै आफूहरूको भूमिका र स्थान सम्मानजनक हुनुपर्ने धारणा राख्दै आएका छन्।

यही सन्दर्भमा साँझ भएको थापा–खड्का भेटले नेपाली कांग्रेसभित्रको आन्तरिक समीकरण र भावी रणनीतिबारे नयाँ संकेत दिन सक्ने आकलन गरिएको छ।