९ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री सुदन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले पछिल्ला दिनहरूमा आफ्नो शेयर सम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।
उनले पदभन्दा ठूलो नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। देशमा सुशासन र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा युवापुस्ताको आवाजलाई सकारात्मक रूपमा लिँदै उनले नेतृत्व उत्तरदायी हुनुपर्ने बताएका छन्।
गुरुङले आफ्ना विचारमा नैतिक जिम्मेवारीलाई प्रमुख आधार मान्दै, सम्बन्धित विषयमा निष्पक्षता कायम हुनुपर्ने धारणा राखेका छन्। साथै, वास्तविक परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई परिवर्तनका लागि नैतिक साहस आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्वको महत्व दोहोर्याएका छन्।
उनले सामाजिक सन्जालमा लेखेका छन्:
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ। For my country and For the respect of our security forces and For the youths of Nepal.





