१६ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध करिब ६८ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरेको छ।
विभागले बुधबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दर्ता गरेको हो। विभागका निर्देशक सचितकुमार वाइवाका अनुसार पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ र बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गरिएको छ।
उनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दफा ३ को उपदफा (१) का ‘क’, ‘ख’ र ‘ग’ बमोजिमको कसुरमा अभियोग लगाइएको छ।
यसअघि नै उनीहरूविरुद्ध विदेशी विनिमय अपचलन गरी कारोबार गरेको आरोपमा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
विभागका अनुसार सोही मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित सम्पत्तिको प्रयोग तथा रूपान्तरण भएको पुष्टि भएपछि थप रूपमा सम्पत्ति शुद्धीकरणको कसुर पनि स्थापित भएको हो।





