१९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने घोषणा गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
शनिबार जारी विज्ञप्तिअनुसार पार्टीले साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेछ। त्यसपछि भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
त्यसैगरी, जेठ मसान्तभित्र केन्द्रदेखि वडा तथा टोल तहसम्मका सबै संगठन र जनवर्गीय/मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने लक्ष्य राखिएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी सिद्धान्तअनुसार निर्वाचित गरिनेछन्। निर्वाचित संरचनामा अनुभवी, प्रौढ, युवा तथा नवयुवाको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनेछ, जसमा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने योजना छ।
नेकपाले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल पनि गठन गरेको छ। कार्यदलमा देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा लगायत वरिष्ठ अधिवक्ता र विज्ञहरू सहभागी छन्।
पार्टी एकीकरणपश्चात गठन भएको कार्यसंयोजन समितिको चैत १९ देखि वैशाख १४ सम्म चलेको बैठकले अन्तरिम विधान–२०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।




