उर्जा

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

यसअघि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई तत्काल प्रभावबाट निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्र देव शाक्य भने सरकारद्वारा ल्याइएको “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” अनुसार स्वतः पदमुक्त भएका थिए। सोहीपछि रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो।

नयाँ जिम्मेवारीसँगै प्राधिकरणको सेवा प्रवाह, वितरण प्रणाली सुधार तथा ग्राहक सेवा व्यवस्थापनमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।