२४ बैशाख, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीसहितका पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराएबापत राज्यकोषबाट खर्च लिने कार्य गैरकानुनी रहेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
उपचार खर्चबापतको रकम फिर्ता गराउन माग राखेर सरोज न्यौपानेले आज रिट दर्ता गराएका हुन् ।
रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला समेतलाई विपक्षी बनाइएको छ ।
रिटमाथि सुनुवाइका निम्ति शुक्रबार (वैशाख २५)लाई पेसी तय गरिएको छ ।
पूर्वविशिष्टहरूलाई कानुन नभए पनि कार्यविधिका आधारमा विदेशमा गरिने उपचार खर्च व्यहोरिँदै आएको जिकिर रिटमा छ ।
स्वदेशकै अस्पतालमा हुने उपचार विदेशमा गराउने कार्यले राज्यकोषको दोहन हुने दाबी समेत गरिएको छ ।
सर्वोच्चले पनि विदेशमा गरिने उपचारबापत सरकारी खर्च नव्यहोर्न यसअघि सरकारलाई परमादेश दिएको थियो ।





