राजनीति

संवैधानिक परिषद्को निर्णय स्वेच्छाचारिताको पराकाष्ठा हो : डिला संग्रौला

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सह महामन्त्री डिला संग्रौलाले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा स्थापित वरिष्ठताको परम्परा मिचेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएकोमा कडा आपत्ति जनाएकी छन्।

उनले यस कदमलाई विधिको शासनमाथि सिधै प्रहारको संज्ञा दिएकी छन्।

महामन्त्री संग्रौलाले आफ्नो फेसबुक स्टेटस मार्फत प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को यो निर्णयलाई स्वेच्छाचारिताको पराकाष्ठा भनेकी छन्।

उनले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र सेटिङ चलाउने यस्ता कुनै पनि कदमलाई असंवैधानिक मान्न नसकिने स्पष्ट पारेकी छन्।

उनका अनुसार, यो निर्णय शक्ति पृथकीकरणको सिद्धान्त विपरीत पनि भएको छ। संग्रौलाले न्यायालयको गरिमा जोगाउन यसका विरुद्धमा सबैलाई डटेर उभिन आह्वान गरेकी छन्।