२५ वैशाख, दैलेख । सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा ‘सुन’ फलाएर मुलुकलाई नै नयाँ सन्देश दिएका छन् ।
कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केबल घाँस–दाउरामा मात्रै सीमित यहाँका राता माटाका गहहरू अहिले लटरम्म फलेका सुन्तला र दानादार आलुका कारण पहेँलपुर र मनमोहक देखिएका छन् । आफ्नै माटोको सुगन्धमा रमाउँदै यहाँका किसानहरूले करोडौँको आम्दानी गरेर गाउँमा खुसीको रङ भरेका छन् ।
वैदेशिक रोजगारीको मृगतृष्णालाई तिलाञ्जली दिएर माटोसँग अटुट साइनो गाँस्नु भएका गुराँस गाउँपालिकाका १८ जना जाँगरिला कृषकहरूको समूहले यतिबेला जिल्लामै ठूलो कृषि क्रान्ति ल्याएका छन् । वार्षिक करिब रु तीन करोडभन्दा बढी आम्दानी गाउँमै भित्र्याएर उनीहरूले कृषिलाई निर्वाहमुखी पेशा मात्र नबनाई सम्मानित र आकर्षक व्यवसायका रूपमा स्थापित गरेका छन् ।
यस कृषि अभियानका एक सशक्त र बलिया खम्बा छन् । गुराँस गाउँपालिका–६ का कृष्ण आरसी । उनलाई देख्दा लाग्छ, यदि मानिसमा अठोट, धैर्यता र जाँगर हुने हो भने माटोले कहिल्यै कसैलाई धोका दिँदैन । आरसीले यस वर्ष मात्रै सबै लगानी र खेतीको खर्च कटाएर २७ लाख रुपैयाँ चोखो नाफा आर्जन गरेका छन्। यो सफलताको पछाडि उनको अहोरात्रको खटाइ र माटोसँगको अनन्य प्रेम लुकेको छ ।
उनले यस वर्ष मात्रै २०० क्विन्टल सुन्तला प्रतिकिलो रु ८० का दरले बिक्री गरी रु १६ लाख आम्दानी गर्न सक्षम भए । त्यति मात्र होइन, आलु र अन्य फलफूल खेतीबाट रु १२ लाख प्राप्त गरे । उनले फलफूल र तरकारी मात्र नभई तिनका बीउ बिक्री गरेर पनि आम्दानी गरेका छन् । करिब ३० रोपनी जग्गालाई हराभरा व्यावसायिक कृषि फार्ममा बदल्नुभएका आरसीले यसै वर्ष कृषि विकास कार्यालयलाई रु पाँच लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनालाई रु १० लाख बराबरको उच्च गुणस्तरको बीउ बिक्री गरेका छन् । उनको सफलताको चर्चा अहिले गाउँदेखि सहरसम्म हुने गरेको छ । आफ्नो सफलताको सूत्र सुनाउँदै आरसी भन्छन्, “विदेश जाने भनेको गाउँमै बसेर काम गर्न नचाहने वा आफ्नै देशको माटोको शक्ति नबुझेर मात्रै हो । जाँगर चलाउने हो भने यहीँको माटोमा सुन फल्छ ।” यही माटोको कमाइले आज सुर्खेतमा भव्य घर, १० वटा घडेरी र दुईवटा गाडी जोड्न उनी सफल भएका छन्। यो कुनै पनि देशको रोजगारीको कमाइभन्दा कम छैन । उनले कृषि विकास कार्यालयले फलफूल बगैँचा स्थापनादेखि सिँचाइका पोखरी र पाइपलाइनसम्म पु¥याएको प्राविधिक र आर्थिक सहयोगको खुलेर प्रशंसा गरे । गुराँस गाउँपालिका–५ मा रहेको लहरा बस्ती अहिले आलुको बीउको लागि जिल्लाभर मात्र नभई कर्णाली प्रदेशमै प्रसिद्ध छ । यहाँ उत्पादन हुने बीउको गुणस्तर राम्रो भएकाले कृषकहरूले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था छैन, बरु ग्राहकहरू खेतमै आइपुग्छन् । विगत २२ वर्षदेखि यही माटोमा रमाउँदै आएकी प्रतीक्षा राना बिसीको अनुभवमा यहाँको बीउको माग दैलेखका ११ वटै स्थानीय तहमा उच्च छ । उनले वार्षिक १७ क्विन्टल बीउ आलु रोप्छन्, जसबाट ८० देखि ९० क्विन्टलसम्म उत्पादन लिने गरेका छन्।
आलुसँगै उनले काउली, बन्दा र केराउ खेतीलाई पनि व्यावसायिक रूपमा अगाडि बढाउका छन्, यसबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । सफलताका बीच केही भौतिक चुनौतीहरू बाँकी रहेको उनी बताउछन् । बिसीले भने, “हाम्रो उत्पादनलाई सबैले राम्रो मान्छन्, तर उत्पादन बोकेर गाडी पुग्ने सडकसम्म पु¥याउन निकै सास्ती छ । सडक र सिँचाइको उचित प्रबन्ध भइदिए हामी उत्पादनलाई अझै व्यापक बनाउने थियौँ ।”
किसानहरूको यो लोभलाग्दो मिहनत र गाउँमै भइरहेको आम्दानीको चर्चा चुलिएपछि कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले यही वैशाख १२ गते लहरा बस्तीको स्थलगत अनुगमन गरेका थिए । किसानहरूले आफ्नै गाउँमा उदाहरणीय काम गरेको थाहा पाउनासाथ उनी जिल्लाका कृषिसँग सम्बन्धित सरोकारवाला निकाय, प्राविधिक र विज्ञहरूको टोली लिएर किसानको खेतबारीमै पुगेका थिए । अनुगमनका क्रममा किसानहरूका समस्या, गुनासो र मागहरूलाई नजिकबाट सुनेका सभापति खत्रीले किसानहरूको मेहेनत देख्दा आफू निकै प्रभावित भएको बताए। उनले भने, “तपाईंहरूले जमिनलाई सुनमा बदलेका छन्, यो सिङ्गो कर्णालीका लागि गौरवको विषय हो । किसानका कुरा सुनिसकेपछि उनले कृषिका पूर्वाधार, सडक र सिँचाइमा देखिएका समस्या समाधान गर्न आफूले प्रदेश सरकारको तर्फबाट सकेसम्म पहल गर्ने र वास्तविक किसानको पसिनाको कदर हुने गरी योजनाहरू ल्याउने प्रयास गर्ने प्रतिबद्धता जनाए ।
बीउ आलु उत्पादनमा अर्का चम्किला पात्र छन्, सोही गाउँका विराज राना । उनले सरकारी कार्यालय र विभिन्न कृषि परियोजनाहरूलाई मात्रै लाखौँको बीउ बिक्री गर्छन् । उनको वार्षिक कारोबार करिब रु ३५ लाख बराबरको छ ।
त्यसैगरी, विगत २५ वर्षदेखि निरन्तर कृषि कर्ममा होमिएका विनोदबहादुर रोकायको कथा पनि उत्तिकै प्रेरणादायी छ । सुन्तला र आलुको मिश्रित खेतीबाट उनले वार्षिक रु १० लाखभन्दा बढी बचत गर्छन् । उनले विगतका दुःखका दिनहरू सम्झँदै भने, “पहिले हामी बीउका लागि महँगो मूल्य तिरेर नेपालगञ्ज धाउनुपथ्र्यो तर अहिले हामी आफैँले गाउँमै सस्तो र गुणस्तरीय बीउ उत्पादन गरेर अरूलाई वितरण गरिरहेका छौँ, यसले हामीलाई आत्मसन्तुष्टि दिएको छ ।” रोकायले पनि कृषिकै आम्दानीबाट सुर्खेतमा घर र सात वटा घडेरी जोड्न सफल भएको जानकारी दिए ।
कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख दशरथ पाण्डेले किसानहरूको यो सक्रियताले कार्यालयको शिर उँचो बनाएको बताए । उनका अनुसार वास्तविक किसानको पहिचान गरेर प्रोत्साहनको लागि कृषिबाट हुने प्राविधिक सहयोग मात्र गर्दा पनि यति ठूलो नतिजा निस्कनु सुखद पक्ष हो । पाण्डेले थपे, “युवाहरू मलेसिया वा खाडीमा पसिना बगाउन जानु भन्दा आफ्नै गाउँमा व्यावसायिक बन्ने हो भने मुलुक समृद्ध हुन समय लाग्दैन । “कार्यालयले किसानहरूको सुविधाका लागि रु २५ लाखको अनुदानमा बीउ भण्डारण भवन समेत निर्माण गरिदिएको छ । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ मा कृषि विकास कार्यालयले बीउलाई सुरक्षित राख्न २५–२५ लाखको बीउ भण्डारण भवन बनाइदिएको छ
कृषिविज्ञ झलक भण्डारीले यसलाई स्वास्थ्य र समृद्धिसँग जोडेर हेर्नुपर्ने बताए । उनले भने, “आफ्नै जग्गामा फलेको अर्गानिक उपजले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र क्यान्सर जस्ता घातक रोगबाट बच्न सहयोग गर्छ । गुराँसका कृषकहरूले स्वास्थ्य र आम्दानी दुवैलाई सँगै लैजाउका छन् ।”
अहिले यहाँका सुन्तला र आलुले सुर्खेत, दैलेख, चुप्रा र डुङ्गेश्वर लगायतका ठूला बजारहरूको माग धानी रहेका छन् । किसानहरू करोड पति मात्र बन्नु भएको छैन, उनीहरूले समाज लाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएका छन् । गुराँस र डुङ्गेश्वरका यी पौरखी किसानहरूको सफलताले एउटै सन्देश दिएको छ–पसिना बगाउन जान्ने हो भने आफ्नै गाउँको माटोले सुनको फल दिन्छ । प्रदेश सरकार र सरोकारवाला निकायले सडक र सिँचाइको समस्यालाई समयमै सम्बोधन गरी दिने हो भने लहरा बस्तीको यो खुसी अझै धेरै गुणा फैलिने निश्चित छ ।




