राजनीति

राजनीतिलाई मर्यादित बनाउन विद्रोह गरेका हौं : रवि लामिछाने

२७ वैशाख, काठमाडौं । रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई राजनीतिक विद्रोहको संज्ञा दिएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लामिछानेले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि बढिरहेका बेला रास्वपा वैकल्पिक शक्तिका रूपमा उदाएको बताएका हुन्।

“विद्रोह समाजको निरन्तर प्रक्रिया हो । हामीले पनि एउटा विद्रोह गरेका हौं,” उनले भने, “राजनीतिलाई सही ढंगले अघि बढाऔं, संसदीय अभ्यासलाई मर्यादित बनाऔं भन्ने हाम्रो उद्देश्य हो ।”

लामिछानेले राजनीतिमा पद र प्रतिष्ठाभन्दा नेतृत्वको गुण महत्वपूर्ण हुने बताए। प्रधानमन्त्री वा मन्त्री बन्नु मात्रै आफ्नो लक्ष्य नभएको उल्लेख गर्दै उनले मुलुकलाई कस्तो दिशा दिने भन्ने विषय नै प्रमुख भएको धारणा राखे।

उनले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास बनाउने यात्रामा रहेको पनि बताए।

रास्वपाका सांसदहरू नयाँ भए पनि सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहने उनले उल्लेख गरे। पछिल्लो समय विश्व राजनीतिमा आएको परिवर्तनसँगै नेपालमा पनि नयाँ राजनीतिक सोचको आवश्यकता महसुस भएको उनको भनाइ थियो।