२८ बैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था जिकिर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै पोख्रेलले राज्य सञ्चालनका नाममा गरिने प्रतिशोध र पूर्वाग्रही कार्यले लोकतान्त्रिक मूल्य-मान्यतालाई कमजोर बनाउने चेतावनी दिए।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, “सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो। राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुन्छन्।”
उनले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्याउने खतरा रहेको दाबी गरे।
विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको उनको भनाइ छ ।
जेन-जीआन्दोलनका क्रममा भएका घटनाहरूसँग जोडेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि पोखरेलले बालेन सरकारले प्रतिशोध साधेको आरोप लगाउदै आएका छन् ।
एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधका रूपमा लिँदै सरकारको कदमको कडा आलोचना गर्दै आएको छ।
पोखरेलले सरकारको यस्तो कार्यले राज्यका संस्थाहरूलाई कमजोर बनाउने र लोकतन्त्रलाई नै खतरामा पार्ने तर्क गरेका छन्।






