२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको विस्तारप्रति आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्रको एकता र लोकतन्त्रको रक्षामा जोड दिएका छन्।
आफ्नो फेसबुक स्टाटसमार्फत कोइरालाले पार्टीको समग्र एकताविना राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न नसकिने बताएका छन्।
कोइरालाले विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको उल्लेख गर्दै कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता भएको र यसमा पद र व्यक्तिको कुरा गौण हुने बताएका छन्।
उनले कांग्रेसको इतिहास र परम्परा पनि यही रहेको स्मरण गराएका छन्। विभाजित कांग्रेसले विगतमा ठूलो हण्डर खानु परेको र आम नागरिकको भरोसा तथा विश्वास गुमाएको उनको भनाइ छ।
भर्खरै सम्पन्न आम निर्वाचनको परिणामले नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि बढ्नुपर्ने प्रेरणा दिएको कोइरालाले औंल्याएका छन्।
आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि आम नागरिकको भरोसा जित्न नसके राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि प्रश्न उठ्ने खतरा उनले देखेका छन्।
कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशील र त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा उनीहरूको भूमिका सुनिश्चित गर्न भावनात्मक एकता र नागरिकमैत्री पार्टी निर्माणको दिशामा अगाडि बढ्नुपर्नेमा कोइरालाले जोड दिएका छन्।
उनले पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर ुपपुलिज्मु को नाममा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहेका बेला पनि गुट उपगुटमा विभाजन हुनु दुःखद अवस्था भएको कोइरालाको भनाइ छ।
यसको अन्त्य जति छिटो हुन्छ, नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्ने उनले बताएका छन्।
कोइरालाले सभापति गगन कुमार थापाले केन्द्रीय समितिमा गरेको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको स्पष्ट पारेका छन्।
उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन ९एकता महाधिवेशनका रूपमा० सम्पन्न गरिनुपर्ने र यही नै कांग्रेस एकताको मुख्य आधार हुनुपर्नेमा जोड दिएका छन् ।







