३० वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंकले घटेर २७४० अंकमा अडिएको हो ।
बजारसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार जम्मा २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून रहेको बताइएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ व्यापार र उत्पादन समूहबाहेक सबै सूचक ओरालो लागेका छन् । व्यापार समूह १.५० प्रतिशत र उत्पादन समूह ०.४७ प्रतिशतले बढेको छ ।
यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ तथा अन्य समूह ०.३० प्रतिशतले घटेका छन् ।
कम्पनीगत प्रदर्शनतर्फ एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ । एसवाई प्यानल ४.६२ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.१७ प्रतिशतले घटेको छ । झापा इनर्जी ९.४३ प्रतिशत र रिजलाइन इनर्जी ४.८७ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स् अग्रस्थानमा रहेका छन् ।





