समाचार

महालेखाको प्रतिवेदन : मुलुकको बेरुजु साढे ७ खर्बमाथि

१ जेठ, काठमाडौं । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

महालेखा परीक्षक तोयम रायाले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेस गर्दै गत एक वर्षमै बेरुजु रकम ८८ अर्ब ९ करोड रुपैयाँले वृद्धि भएको जानकारी दिएका छन् ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाका कारण १ सय ७९ कार्यालय तथा निकायले लेखा र स्रेस्ता पेस नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण हुन सकेन ।

महालेखा परीक्षकको कार्यालयका अनुसार प्रचलित कानुनअ नुसार प्रक्रिया पूरा नगरी गरिएको आर्थिक कारोबार, राख्नुपर्ने लेखा नराखिएको अवस्था तथा अनियमित वा बेमनासिब ढंगले गरिएको खर्चलाई बेरुजु मानिने गरिएको छ ।