अन्तर्राष्ट्रिय

चीनको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु

९ वैशाख, काठमाडौं । उत्तरी चीनको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

शान्सी प्रान्तस्थित टोङ्झाउ ग्रुपद्वारा सञ्चालित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट भएको हो।

घटनास्थलमा सयौं उद्धारकर्मी परिचालन गरिएको छ। सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा एम्बुलेन्सको बीचमा स्ट्रेचर बोकेर घाइतेलाई उद्धार गर्दै गरेका स्वास्थ्यकर्मी देखिएका छन्। १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको बताइएको छ भने उद्धार कार्य अझै जारी रहेको छ।

शुक्रबार स्थानीय समयअनुसार साँझ ७:२९ बजे (११:२९ GMT) विस्फोट भएको हो। घटनाका बेला खानीमा २४७ जना कामदार कार्यरत रहेको जनाइएको छ।

घटनापछि चिनियाँ राष्ट्रपति Xi Jinping ले घाइतेहरूको उपचार र जीवितको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

उनले दुर्घटनाको कारण छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनमा संलग्न अधिकारीहरूलाई नियन्त्रणमा लिइएको छ। विस्फोटको कारण खुल्न बाँकी भए पनि खानीभित्र कार्बन मोनोअक्साइड नामक अत्यन्त विषालु र गन्धरहित ग्यासको मात्रा निर्धारित सीमा भन्दा बढी भेटिएको बताइएको छ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धारका लागि ६ वटा टोलीबाट ३४५ जना उद्धारकर्मी खटाएको जनाएको छ।

शान्सी चीनको गरिब प्रान्तमध्ये एक हो र यसलाई देशको कोइला उत्पादन केन्द्रका रूपमा चिनिन्छ।

सन् २००० को दशकको सुरुवातमा चीनको कोइला उद्योगमा यस्ता घातक दुर्घटना सामान्य थिए। पछिल्ला वर्षहरूमा सुरक्षा मापदण्ड कडा बनाइए पनि दुर्घटना अझै भइरहेका छन्।

सन् २०२३ मा उत्तरी इनर मङ्गोलिया क्षेत्रमा रहेको खुला कोइला खानी भत्किँदा ५३ जनाको मृत्यु भएको थियो। त्यसअघि सन् २००९ मा उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको एक खानी विस्फोटमा १०० भन्दा बढीको ज्यान गएको थियो।

चीन विश्वकै सबैभन्दा ठूलो कोइला उपभोक्ता र हरितगृह ग्यास उत्सर्जक देश हो, यद्यपि उसले नवीकरणीय ऊर्जामा पनि तीव्र रूपमा लगानी गरिरहेको छ।