ब्रेकिङ न्युज

साढे दुई करोड कारोबारले किन तान्यो जयवीर देउवालाई अनुसन्धानको घेरामा?

१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा आएको २ करोड ६० लाख रुपैयाँको कारोबारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ।

विभागले विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरण मुद्दासँग सम्बन्धित विवरणमा डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा प्राप्त उक्त रकम शंकास्पद देखिएको उल्लेख गरेको हो। विभागका अनुसार यी दुवै कम्पनीमा जयवीर देउवाको लगानी रहेको छ।

अनुसन्धानका क्रममा उक्त रकम हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिबाट भुक्तानी भएको खुलेको छ। विभागले सो कम्पनी व्यवसायी दीपक भट्टको नियन्त्रणमा रहेको दाबी गर्दै रकमको स्रोत र कारोबारको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

विभागले अदालतमा पेस गरेको आरोपपत्रमा कसुरबाट प्राप्त भएको हुन सक्ने आशंकाका आधारमा अनुसन्धानलाई कानुनअनुसार निरन्तरता दिइने उल्लेख गरिएको छ।

यसअघि विभागले गत असार २३ गते जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। अनुसन्धान टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद टाँस्नुका साथै त्यसको सूचना गोरखापत्रमार्फत पनि प्रकाशित गरेको थियो।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धानको सिलसिलामा आवश्यक व्यक्तिलाई कानुनी प्रक्रियाअनुसार उपस्थित हुन सूचना जारी गर्न सकिने व्यवस्था छ।