१४ जेठ, काठमाडौं । सहकारी क्षेत्रको अध्ययनका क्रममा बचतकर्ताको रकम दुरुपयोग गरी मन्त्री तथा राजनीतिक नेताहरूलाई हेलिकप्टरमार्फत साधारणसभा उद्घाटनमा ल्याउने गरिएको तथ्य सार्वजनिक भएको छ।
सहकारी क्षेत्रको समस्या अध्ययन गर्न गठित आयोगको प्रतिवेदनअनुसार राजनीतिक संरक्षण, कमजोर नियमन र संस्थागत सुशासनको अभावका कारण सहकारीमा व्यापक अनियमितता बढेको छ। प्रतिवेदनले बचतकर्ताको रकम उत्पादनमूलक क्षेत्रमा लगानी नगरी जग्गा प्लटिङजस्ता अनुत्पादक क्षेत्रमा प्रयोग गरिएकाले धेरै सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ।
आयोगले सहकारीको कडा नियमन, प्रभावकारी अनुगमन तथा आवश्यक संस्थाहरूलाई मर्जरमा लैजान सुझाव दिएको छ। साथै, सहकारीको रकम अपचलन गरी विदेश फरार भएका २८ सञ्चालकमध्ये हालसम्म एक जनालाई मात्र नेपाल फर्काउन सफल भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।





