समाचार

गणतन्त्रको रक्षा र सुदृढीकरण नै आजको आवश्यकता : सभापति थापा

१५ जेठ, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्

सभापति थापाले यस अवसरमा लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थापाले नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भएको स्मरण गरेका छन्।

तत्पश्चात् वि।सं। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो।

उनले यही ऐतिहासिक उपलब्धिको स्मरणमा हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको बताए।

सभापति थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिनेमा जोड दिएका छन्।

थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता भएको औंल्याए।

मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास उनले व्यक्त गरेका छन्।