समाचार

बजेटमा गैरआवासीय नेपालीका मुद्दा समेटिएको भन्दै एनआरएनएको स्वागत

१७ जेठ, काठमाण्डौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक र नेपाली डायस्पोरासँग सम्बन्धित विषय समेटिएको भन्दै स्वागत गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा संघले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउने सरकारको घोषणालाई सकारात्मक कदम भनेको छ। ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धताले विश्वभर रहेका नेपालीमा उत्साह थपेको संघको भनाइ छ।

एनआरएनएले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने र स्टार्टअप क्षेत्रमा सह–लगानी प्रोत्साहन गर्ने घोषणाको पनि स्वागत गरेको छ। विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक तयारी गर्ने विषयलाई समेत संघले महत्वपूर्ण मानेको छ।

विज्ञप्तिमा वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका श्रमिकको सीपलाई औपचारिक मान्यता दिने व्यवस्था सकारात्मक रहेको उल्लेख छ। श्रमिक सुरक्षा, बीमा, सामाजिक सुरक्षा र श्रम शोषण नियन्त्रणका कार्यक्रमले श्रमिकको हित संरक्षणमा सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने र रिमोट वर्कलाई कानुनी आधार दिने सरकारी योजनाले युवाका लागि नयाँ अवसर सिर्जना गर्ने एनआरएनएको भनाइ छ।

संघले डायस्पोराको ज्ञान, सीप, पूँजी र अन्तर्राष्ट्रिय सञ्जालको उपयोगसम्बन्धी विषय बजेटमा समेटिएको भन्दै सरकार र अर्थ मन्त्रालयप्रति आभार व्यक्त गरेको छ।

घोषणा गरिएका कार्यक्रमलाई छिट्टै कानुनी रूप दिई कार्यान्वयनमा लैजान संघले सरकारसँग आग्रह गरेको छ। आवश्यक सहकार्य, सुझाव र समन्वयका लागि आफूहरू सदैव तयार रहेको पनि एनआरएनएले जनाएको छ।