१७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।
आइतबार बिहान सवा ११ बजेका लागि निर्धारण गरिएको बैठक एक घण्टा ढिलो सुरु भएको थियो। प्रारम्भमा शून्य समय सञ्चालन गर्दै केही सांसदहरूले आफ्ना धारणा राखेका थिए।
त्यसपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नरहेको जानकारी गराउँदै बैठक करिब २० मिनेटपछि पुनः बस्ने गरी स्थगित गरेका हुन्।
आजको कार्यसूचीमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। त्यसपछि सो विधेयक पारित गर्ने तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि पारित गर्ने कार्यसूची तय गरिएको थियो।
तर, विधेयकहरूमा परेका संशोधनबारे सरकारसँग थप छलफल जारी रहेकाले बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो।
संसदीय स्रोतका अनुसार दुवै विधेयकमा परेका संशोधनबारे सहमति जुटाउने प्रयास भइरहेको छ। यसका लागि सरकार र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिबीच छलफल जारी रहेको बताइएको छ।
यसैबीच, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विभिन्न दलका प्रतिनिधिसँग विधेयकका विषयमा संवाद गरिरहेकी छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा तीन–तीन वटा संशोधन दर्ता भएका छन्।





