आर्थिक

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई प्रत्येक पन्ध्र दिनमा ६२ करोडभन्दा बढी घाटा

१७ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन नगरी हालकै मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमका अनुसार यो निर्णय जेठ १८ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाइएको निगमले जनाएको छ।

हाल पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम छ। त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य क्रमशः २२२ रुपैयाँ ५० पैसा, २२४ रुपैयाँ र २२५ रुपैयाँ प्रतिलिटर रहेको छ।

निगमले मूल्य यथावत राख्दा पनि प्रत्येक पन्ध्र दिनमा करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भइरहेका कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न कठिन भएको निगमको भनाइ छ।

निगमले उपभोक्तालाई सहज आपूर्ति, शुद्धता र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ।