समाचार

सुस्तामा नेपाली भूमिमै तटबन्ध निर्माण रोकियो, एसएसबीको हस्तक्षेपको आरोप

१८ जेठ, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदी नियन्त्रणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको तटबन्ध निर्माण कार्य भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आपत्तिपछि प्रभावित भएको छ।

सुस्ता बचाउ अभियानका अनुसार निर्माण भइरहेको स्थान नेपालकै भूभागभित्र पर्दा पनि एसएसबीले काम रोक्न दबाब दिएको छ। अभियानले भारतले दाबी गरेको सीमाभन्दा समेत नेपालतर्फ निर्माण भइरहेको तटबन्धमा अवरोध गरिएको जनाएको छ।

करिब १२ करोड रुपैयाँ लागतको उक्त आयोजना अन्तर्गत नारायणी नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको छ। घटनापछि नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भए पनि तत्काल समाधान ननिस्कँदा निर्माण कार्य रोकिएको बताइएको छ।

स्थानीय सरोकारवालाले सीमा क्षेत्रका विकास तथा संरक्षणका काममा अनावश्यक अवरोधले स्थानीय बासिन्दा प्रभावित हुने भन्दै समस्या कूटनीतिक रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।