१९ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले पार्टीले ‘छाया सरकार’ वा ‘छाया मन्त्रिपरिषद्’ गठन गरेको भन्ने चर्चा तथ्यमा आधारित नभएको बताएका छन्।
उनले कांग्रेस संसदीय दलको विधानअनुसार विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयगत समितिका संयोजकहरू तोकिएको स्पष्ट पार्दै त्यसलाई छाया सरकारको रूपमा व्याख्या गर्नु उपयुक्त नहुने बताए।
आङ्देम्बेका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर १८ मन्त्रालयको कार्यक्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गरिएको हो। यस व्यवस्थाको उद्देश्य संसदीय गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र विषयगत रूपमा सशक्त बनाउनु रहेको उनले बताए।
उनले कांग्रेसले सरकारको समानान्तर संरचना खडा गर्ने वा वैकल्पिक मन्त्रिपरिषद् बनाउने उद्देश्य नराखेको उल्लेख गर्दै हाल गठन गरिएका संयोजकहरू संसदीय कामकाजलाई सहज बनाउन केन्द्रित रहेको बताए।
राजनीतिमा विगतमा ‘छाया सरकार’ भन्ने अवधारणा प्रयोग हुने गरे पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उनको भनाइ छ। हालै कांग्रेसले मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरेपछि केही सञ्चारमाध्यममा ‘छाया सरकार’ गठन गरिएको समाचार सार्वजनिक भएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै आङ्देम्बेले वास्तविकता फरक रहेको स्पष्ट पारेका हुन्।





