समाचार

आकर्षक रोजगारीको प्रलोभनमा भारतमा फसेका ४५३ नेपालीको उद्धार

जेठ १८, काठमाडौं । सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतमा श्रम शोषण तथा ठगीमा फसाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्था KIN India सँगको समन्वयमा उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको कारबाहीबाट ११५ महिला र ३३८ पुरुष गरी कुल ४५३ नेपाली नागरिकलाई उद्धार गरिएको हो।

उद्धार गरिएका नेपालीहरूलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको थियो। घटनामा संलग्न भएको आशंकामा ६ महिलासहित १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाली राजदूतावासले उद्धार कार्यमा सहयोग गर्ने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा KIN India लगायत सबै निकायप्रति आभार व्यक्त गर्दै वैदेशिक रोजगारी तथा अन्य प्रलोभनका नाममा हुने ठगीप्रति सचेत रहन नेपाली नागरिकलाई आग्रह गरेको छ।