ब्रेकिङ न्युज

संसदीय तनावबीच कांग्रेसले किन डाक्यो विपक्षी दललाई ?

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार अपराह्न सुरु भएको बैठकमा संसद्को पछिल्लो अवस्था, सदनको अवरोध तथा आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।

बैठकमा कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई सहभागी छन्। त्यस्तै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर पनि बैठकमा उपस्थित छन्।

यसबाहेक नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीसहित विभिन्न विपक्षी दलका प्रतिनिधिहरू बैठकमा सहभागी भएका छन्।

यसअघि विपक्षी दलहरूको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए। त्यसलगत्तै कांग्रेसले विपक्षी दलहरूको साझा धारणा बनाउन बैठक आह्वान गरेको हो।