समाचार

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

२७ जेठ, काठमाडौँ । अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । काठमाडौँको चन्द्रागिरि बस्दै आएकी श्रेष्ठलाई टेकुबाट पक्राउ गरिएको हो ।

उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेको छ । पक्राउ परेका श्रेष्ठले रकम लिएपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको तथा विदेश पठाउन छाडेर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी कार्कीले बताए । —