सूचना प्रविधि

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७ टी नेपालमा सार्वजनिक

२९ जेठ, काठमाडौं ।  विश्वव्यापी प्रविधि कम्पनी Xiaomi ले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७ टी सार्वजनिक गरेको छ। अत्याधुनिक क्यामेरा प्रविधि, आकर्षक डिस्प्ले र उच्च क्षमताको ब्याट्रीसहित ल्याइएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गर्दै बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

शाओमी १७टी मा लेइका अप्टिक्समा आधारित ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ। ५० मेगापिक्सेलको मुख्य क्यामेरासहितको यो स्मार्टफोनले उच्च गुणस्तरका तस्बिर खिच्न सक्षम रहेको कम्पनीको दाबी छ। साथै, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा, अप्टिकल इमेज स्टेबिलाइजेसन, १० गुणासम्मको अप्टिकलस्तरको जुम तथा १२० गुणासम्मको एआई जुम सुविधा उपलब्ध गराइएको छ।

भिडियो पारखीका लागि यसमा फोरके ६० फ्रेम–प्रति–सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा समावेश गरिएको छ। ‘लाइभ मोमेन्ट’ फिचरमार्फत प्रयोगकर्ताले विशेष क्षणसँगै त्यसअघिको भावना र गतिविधिलाई समेत कैद गर्न सक्ने कम्पनीले जनाएको छ।

फोनमा १/१.५५ इन्चको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ, जसले कम प्रकाशमा समेत स्पष्ट तस्बिर खिच्न मद्दत गर्छ। ‘लाइभ पोर्ट्रेट’ र विभिन्न सिनेमाटिक मोडहरूले सिर्जनात्मक फोटोग्राफी तथा भिडियो निर्माणलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।

शाओमी १७टी मा पहिलोपटक ‘भिजन केयर’ प्रविधि समावेश गरिएको छ। ३,५०० निट्ससम्मको अधिकतम ब्राइटनेस क्षमता भएको एमोलेड डिस्प्लेले आँखामा पर्ने असर कम गर्न निलो प्रकाश, फ्लिकर तथा मोसन ब्लर नियन्त्रण गर्ने बताइएको छ। यसलाई शाओमीको ‘फोर आइकेयर’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोनसमेत भनिएको छ।

फोनमा ६,५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जुन अघिल्लो पुस्ताको तुलनामा १८ प्रतिशत बढी रहेको कम्पनीले जनाएको छ। ६७ वाट फास्ट चार्जिङ सपोर्टले छोटो समयमै ब्याट्री चार्ज गर्न सकिनेछ।

प्रदर्शनका लागि फोनमा ४ न्यानोमिटर प्रविधिमा आधारित मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। यसले गेमिङ, मल्टिटास्किङ तथा एआई आधारित कार्यलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

नेपालमा शाओमी १७टी बैजनी, निलो र कालो गरी तीन रंगमा उपलब्ध छ। १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। साथै, फोन खरिद गर्ने ग्राहकले रेड्मी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।