१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै विकास निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये ४३ अर्ब ९७ करोड रुपैयाँ (६५.६९ प्रतिशत) पुँजीगत खर्चका लागि र २२ अर्ब ९६ करोड रुपैयाँ (३४.३१ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरिएको जानकारी दिए।
यस वर्ष सबैभन्दा धेरै २५ अर्ब ६० करोड रुपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छुट्याइएको छ। त्यसपछि स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई ९ अर्ब ६ करोड, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ८ अर्ब ९० करोड र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयलाई ६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत एक हजार विपन्न परिवारका लागि घर निर्माण, काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन तथा भीमफेदी–कुलेखानी सुरुङमार्ग अध्ययनका लागि पनि बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ।





