समाचार

लागुऔषध सहित पक्राउ परे खुकुरी देखाई युवती कुट्ने युवक

३ असार, काठमाडौं । दाङको तुलसीपुरमा युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक लागुऔषध सहित पक्राउ परेका छन् ।


प्रहरीले घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका–०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो । मगरले करिब ३ महिना अघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपिट गरेको भिडियो मङ्गलबार साँझ ८ः३० बजे आफ्नै फेसबुक आइडी मार्फत सार्वजनिक गरेका थिए ।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मगरलाई मङ्गलबार राति १०ः४० बजे उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

मगरको साथबाट लागुऔषध प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोही क्रममा तुलसीपुर–०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।