समाचार

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध


५ असार, लमजुङ । पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ ।

बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, ‘पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उनको भनाइ छ ।

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ ।

यहाँ विगत पाँच-सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

पहिरो रोकथाम गर्न सङ्घीय सरकारको १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको हो ।

विसं २०८० मा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन ।

त्यस्तै, बेँसीसहर घलेगाउँ सडकसमेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस सडकअन्तर्गत बेँसीसहर-६ पुमा भीरमा पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।