२४ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गरेका छन् । उनले तेहरानसँग थप कुनै सम्झौता नहुने संकेत गरेका छन्।
अमेरिकी सेनाले इरानका विभिन्न स्थानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो।
टर्कीको राजधानी अङ्कारामा जारी नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पारे।
उनले इरानी नेतृत्वप्रति कडा टिप्पणी गर्दै अब तेहरानसँग वार्ताको कुनै औचित्य नरहेको बताए।
ट्रम्पले इरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न पछि नपर्ने आरोप लगाउँदै इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको बताए। उनका अनुसार अब इरानसँगको वार्तालाई उनले समयको बर्बादीका रूपमा लिएका छन्।
उनले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने वा नगर्ने निर्णय अब तेहरानकै हातमा रहेको उल्लेख गरे।
ट्रम्पले जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई इरानले पटकपटक गलत रूपमा प्रस्तुत गरेको आरोप पनि लगाए।
उनका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भएको थियो, तर इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ।
यसैबीच, ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले वृद्धि भएको छ। यसले मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा समेत प्रभाव पर्न थालेको संकेत गरेको छ।




