ब्रेकिङ न्युज

राहदानी विभागअघि आत्मदाह प्रयास गर्ने युवकको अवस्था नाजुक

२५ असार, काठमाडौं ।  त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट नजिक आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ भने चिकित्सकहरूले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी गरेका छन्।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। प्रारम्भिक मूल्यांकनअनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।

हाल आकस्मिक कक्षमै आवश्यक औषधोपचार, परीक्षण तथा अन्य प्राथमिक उपचार भइरहेको छ। एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सार्ने तयारी अन्तिम चरणमा पुगेको चिकित्सकहरूले बताएका छन्।

डा. दाहालका अनुसार बिरामीले सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि उनको स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ। जलनका कारण देखिन सक्ने सम्भावित जटिलतालाई ध्यानमा राख्दै चिकित्सकहरूको टोलीले निरन्तर निगरानीमा उपचार गरिरहेको छ।

चिकित्सकहरूका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च हुन्छ। त्यसैले यस्ता बिरामीका लागि प्रारम्भिक २४ देखि ७२ घण्टालाई अत्यन्त संवेदनशील अवधि मानिने भएकाले गणेशको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको छ।