२९ असार, काठमाडौं। राजधानीका विभिन्न सञ्चारगृह अगाडि पार्किङ गरिएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिन थालेको छ। आवतजावतमा अवरोध पुग्ने गरी राखिएका ती सवारीबारे सूचना प्राप्त भएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा अनामनगरस्थित भाटभटेनी नजिक गरी चार स्थानमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। पार्किङ गरिएका सवारीसाधन नियन्त्रणमा लिएर त्यसबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
यसक्रममा तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि पार्किङ गरिएको एउटा गाडी क्रेन प्रयोग गरेर हटाइएको छ। प्रहरीले अनलाइनखबर र हिमालयन टेलिभिजन कार्यालय अगाडि राखिएका सवारी पनि हटाउने तयारी गरेको छ।
प्रहरीका अनुसार चारवटै स्थानमा पार्किङ गरिएका सवारी निजी नम्बर प्लेटका हुन्। ती सवारी कसले, किन र कुन उद्देश्यले सञ्चारमाध्यमका कार्यालय अगाडि राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



