राजनीति

‘मुख थुन्न खोजे पनि प्रश्न रोकिन्न’ – गगन थापा

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक हिम्मत कुनै पनि शक्तिले खोस्न नसक्ने बताएका छन्।

सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो रातोपुलस्थित पुरानो निवास अगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उनले यस्तो गतिविधिले प्रश्न उठाउने आवाजलाई दबाउने प्रयास भएको आरोप लगाए।

थापाले सरकार नै आलोचना र प्रश्नलाई रोक्न अग्रसर देखिएको भन्दै यसलाई लोकतान्त्रिक मूल्यविपरीतको प्रवृत्ति भएको टिप्पणी गरे। उनले यस्ता घटनाप्रति सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै यसले समाज र लोकतान्त्रिक अभ्यासमा नकारात्मक असर पार्न सक्ने बताए।

उनले विगतमा यस्तै प्रवृत्तिका कारण राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै अहिले पनि त्यही गल्ती दोहोरिन नहुने धारणा राखे। भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष गम्भीर बन्नुपर्नेमा पनि उनले जोड दिए।