आर्थिक

११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

२९ असार, काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठ मसान्तसम्म विप्रेषण आप्रवाह २ हजार १२० अर्ब ८० करोड रुपैयाँ पुगेको हो।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८।२ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्म नेपालमा १ हजार ५३४ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २०३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। गत वर्षको जेठ महिनामा यो रकम १७६ अर्ब ३२ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा आधारित रेमिट्यान्स वृद्धि १२.८ प्रतिशत थियो