३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिने युवाको संख्या अहिले अघिल्लो वर्षको तुलनामा बढेको दाबी गर्दै त्यसबारे अहिले कसैले प्रश्न नउठाएको बताएका छन्।
आइतबार एमाले सांसदहरूलाई सम्बोधन गर्दै ओलीले गत वर्ष यही समयमा विदेश जाने युवाको विषयलाई लिएर व्यापक आलोचना भएको स्मरण गरे। तर अहिले संख्या अझै बढ्दा पनि त्यसबारे सार्वजनिक रूपमा कुनै बहस नभएको उनको टिप्पणी थियो।
उनले युवाको वैदेशिक रोजगारीका विषयमा परिस्थिति होइन, राजनीतिक स्वार्थअनुसार व्याख्या हुने गरेको आरोप लगाए। अहिले विदेश जानु युवाको अधिकारका रूपमा व्याख्या गरिए पनि पहिले त्यही विषयलाई अनावश्यक रूपमा विवाद बनाइएको उनको भनाइ थियो।
ओलीले तथ्यलाई बङ्ग्याएर जनताको हितविपरीत राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै त्यस्ता भ्रम चिर्न संसद् प्रभावकारी माध्यम हुनुपर्ने बताए।
उनले बहुमत नभए पनि संसद् जनताको पक्षमा आवाज उठाउने र सही सूचना जनतासमक्ष पुर्याउने महत्वपूर्ण थलो भएको उल्लेख गरे।





