समाचार

चन्द्रागिरीमा १८ हजारभन्दा बढी लागुऔषध क्याप्सुलसहित दुई पक्राउ

३ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै सशस्त्र प्रहरी बलले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले कीर्तिपुर–९ का ३९ वर्षीय अनिल देउला र उदयपुर घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५० बक्समा प्याक गरिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। उनीहरूले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको छ।

अनिल देउलाको डेरामा गरिएको खानतलासीका क्रममा थप ३ हजार ७७० ट्रामाडोल, १ हजार १८८ डाइजापाम तथा फेनेरागन ट्याब्लेट र १५० पोलेन ट्याब्लेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध, नगद, मोबाइल र स्कुटरसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।