पु.समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको ताप्क्रम ३ डिग्री, तराईमा कुईरो

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको हाराहारीमा झरेको छ । सोमबार बिहान ६ बजे काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै केही दिन तापक्रम मौषम समान रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ ।

दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो ।

सोमबार पनि तराईमा दिउँसो १ बजेसम्म कुहिरो लाग्ने र त्यसपछि हट्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए । मंगलबारबाट भने कुहिरो लाग्ने क्रम बिस्तारै कम हुँदै जाने उनले बताए । अरु ठाउँको मौसम भने सोमबार सामान्यतया सफा नै रहने पनि उनले जानकारी दिए ।